म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

  • शनिबार, कार्तिक ७, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

म्याग्दी, ७ कात्तिकः म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् ।

पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस खुवाएपछि गाउँ नजिकै गोठ ल्याएको बताउनुभयो ।

विदेशबाट फर्किएर ३५ वटा भैँसी पालेका उहाँका अनुसार हाल मकै भित्र्याएको बारीमा राखिएको गोठ कोदो भित्र्याएपछि मङ्सिरमा बेँसीको फाँटमा झार्ने चलन छ । पोषिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेँडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन् ।

गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहल बढेको गुर्जाका राजिन छन्त्यालले बताउनुभयो । पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन् । ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन् । महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुन्छ ।

हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ, बलिया र दुधालु हुने धौलागिरि–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताउनुभयो । खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ ।

धौलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् ।

बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ । युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन सङ्कटमा परेको धौलागिरि गाउँपालिका–४ का कीर्तबहादुर घर्तीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ