२३ असोज, २०८३ (९ अक्टोबर, २०२६)
पोखरा। कास्कीको पोखरा महानगरपालिका-२८ स्थित शान्ति मैदानमा आज असोज २३ गते कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा मृत्यु भएका ५ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया शुभेच्छा तिवारी रहनुभएको छ। मृत्यु हुने अर्की १५ वर्षीया किशोरीको भने नाम र थर अझै खुल्न सकेको छैन।
दुर्घटनामा परी घाइते भएका १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अस्पतालका अनुसार घाइते हुनेहरूमा १६ वर्षीया अस्मी कँडेल (जसको सघन उपचार कक्ष अर्थात् आईसीयूमा उपचार भइरहेको छ), १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्नेहा तिवारी, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङ हुनुहुन्छ।
घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याएका थिए। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।