२० असोज, २०८३ (६ अक्टोबर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन समितिले सोमबार राति मतदाता नामावलीको पहिलो सूची सार्वजनिक गरेको छ। निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ११४ जना प्रतिनिधि मतदाताका रूपमा सहभागी हुनेछन्।
प्रकाशन गरिएको सुरुवाती नामावलीमा केही प्रतिनिधिको नाम छुट भएको पाइएकाले आवश्यक प्रक्रिया पूरा गरी अन्तिम नामावलीमा समावेश गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। समितिले परिमार्जित कार्यतालिका अनुसार मङ्गलबार बिहान साढे ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोधको समय निर्धारण गरेको छ। प्राप्त दाबी विरोधमाथि बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म जाँचबुझ गरी साढे ११ बजे मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
नेतृत्व चयनको प्रक्रियालाई अघि बढाउन मङ्गलबार बिहान १० बजेदेखि नै उम्मेदवारी मनोनयन फारम वितरण सुरु गरिएको छ। उम्मेदवारी दर्ताका लागि भने दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।
निर्वाचन समितिको मुख्य कार्यालय भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ। उम्मेदवारी फारम वितरण, मनोनयनपत्र दर्ता तथा निर्वाचन सम्बन्धी सम्पूर्ण प्रशासनिक कार्यहरू राष्ट्रिय सभागृहबाटै सञ्चालन भइरहेको समितिले जनाएको छ।