१९ असोज, २०८३ (५ अक्टोबर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबारदेखि काठमाडौँको खुल्लामञ्चमा बन्दसत्र औपचारिक रूपमा सुरु भएको छ। बिहान १० बजे बसेको केन्द्रीय समितिको बैठक लगत्तै महाधिवेशनको उद्घाटन समारोह भएकै स्थान खुल्लामञ्चमा बन्दसत्रको कार्यक्रम अघि बढाइएको हो।
बन्दसत्रमा देशभरीबाट आएका सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको छ। सत्रमा पार्टीका सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका साङ्गठनिक तथा वित्तीय प्रतिवेदनहरू पेस गरिनेछन्। पेस गरिएका प्रतिवेदनमाथि विस्तृत र फलदायी छलफल गराउन सहभागी प्रतिनिधिहरूलाई भौगोलिक आधारमा हिमाल, पहाड र तराई-मधेस गरी तीन समूहमा विभाजन गरी छलफल सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
बन्दसत्र सम्पन्न भएलगत्तै सोमबार साँझदेखि नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सुरु हुनेछ। निर्वाचन समितिका संयोजक प्रेम खड्काका अनुसार साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि ५ बजेदेखि ६:३० बजेसम्म मतदाता नामावलीउपर दाबीविरोधको समय तोकिएको छ भने सबै प्रक्रिया पूरा गरी राति ८:३० बजे मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
निर्वाचन कार्यतालिका अनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुनेछ। सोही दिन अपराह्न ४:३० बजे प्रथम नामावली, ५:३० बजेसम्म दाबीविरोध र साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ। असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने र १० बजे अन्तिम नामावली प्रकाशन गरी असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा विद्युतीय भोटिङ मेसिनविना मतदान सञ्चालन गरिनेछ।