१९ असोज, २०८३ (५ अक्टोबर, २०२६)
काठमाडौँ। काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बन्द सत्र र निर्वाचनका प्रारम्भिक कार्यक्रमहरू आजैदेखि सुरु हुँदैछन्। बिहान १० बजे केन्द्रीय कार्यसमितिको बैठक बसेलगत्तै महाधिवेशनको बन्द सत्र प्रारम्भ हुनेछ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बन्द सत्रपछि आज साँझदेखि नै निर्वाचन प्रक्रिया अघि बढ्नेछ। जसअनुसार बेलुका ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। नामावलीउपर दाबी विरोधका लागि ५ बजेदेखि ६:३० बजेसम्मको समय तोकिएको छ भने ६:३० देखि ७:३० बजेसम्म दाबी विरोधउपर जाँचबुझ गरी बेलुकी ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारी दर्ता भने मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। मंगलबार दिउँसो ४:३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, ५:३० बजेसम्म दाबी विरोध र बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेदवारी फिर्ता लिनका लागि असोज २१ गते बिहान ९ बजेसम्मको समय दिइनेछ भने सोही दिन बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान हुनेछ। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृहमा, कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम तथा भातृ एवं शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिले खुलामञ्चमा र गण्डकी तथा लुम्बिनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनमा मतदान गर्नेछन्। मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग नगरिने र एक प्रतिनिधिलाई मतदानका लागि करिब ५० मिनेट लाग्ने अनुमान गरिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ।