१९ असोज, २०८३ (५ अक्टोबर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले जारी १५औँ महाधिवेशनमार्फत पार्टीका शीर्ष नेताहरूलाई मिलाएर लैजान पदाधिकारीको संख्या बढाउने तयारी गर्नुभएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि केन्द्रीय समितिमा समाहित भएका तथा १४औँ महाधिवेशनका पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहबाट आएका नेताहरूको पदीय आकांक्षा व्यवस्थापन गर्न विधान संशोधन गर्न लागिएको हो।
यसका लागि एक वरिष्ठ उपसभापति, एक महिला उपसभापति, एक महिला महामन्त्री र खुलातर्फ दुई सहमहामन्त्री गरी पाँच जना पदाधिकारी थप्न विधान संशोधन समितिले प्रस्ताव तयार पारेको छ। हाल कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ११ जना सहमहामन्त्री गरी १५ जना पदाधिकारी रहने व्यवस्था छ। विधान संशोधन समितिका सदस्य ईश्वरी न्यौपानेका अनुसार सभापति थापासँगको छलफलपछि अन्तिम रूप दिइएको उक्त प्रस्ताव आज सोमबार बस्ने बन्दसत्रमा प्रस्तुत गरिनेछ।
प्रस्तावित विधान संशोधनअनुसार वर्तमान उपसभापति विश्वप्रकाश शर्मालाई वरिष्ठ उपसभापति बनाउने तयारी छ भने उपसभापति पुष्पा भुसाललाई सोही पदमा दोहोर्याउने योजना छ। बाँकी दुई उपसभापति पदमा वर्तमान महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे, भीष्मराज आङ्देम्बे, चन्द्र भण्डारी, गोविन्दराज भट्टराई वा दीपक गिरीमध्येबाट मिलाउने प्रयास भइरहेको छ। यस्तै, देउवा समूह छाडेर आएकी पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई महिला महामन्त्रीमा ल्याउने तयारी छ।
सहमहामन्त्रीको संख्या १३ पुर्याएर १० जना प्रतिस्पर्धाबाट र ३ जना सभापतिबाट मनोनीत हुने व्यवस्था गर्न लागिएको छ। साथै, पूर्वसहमहामन्त्रीहरू जीवन शाही, महेन्द्र यादव, नैनसिंह महरसहितका प्रभावशाली नेताहरूको व्यवस्थापनमा पनि सभापति थापाले आन्तरिक छलफल चलाउनुभएको छ। नेताहरूको व्यवस्थापनमार्फत सभापति र वरिष्ठ उपसभापति पद सर्वसम्मत बनाउने र बाँकी पदहरूमा चुनावी प्रतिस्पर्धा गराउने रणनीति कांग्रेसमा देखिएको छ।