१६ असोज, २०८३ (२ अक्टोबर, २०२६)
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले सरकारको ६ महिने कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै वर्तमान शासन सत्ता ‘फासीवादी’ मार्गमा अग्रसर रहेको आरोप लगाउनुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बादलले पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पछिल्ला राजनीतिक घटनाक्रमसम्म पुग्दा सरकारले शक्तिको दुरुपयोग गरी फासीवादी चरित्र प्रदर्शन गरेको दाबी गर्नुभयो।
सत्तापक्षले संसद्लाई केवल आफ्नो प्रतिछायाको रूपमा प्रयोग गरेको र गत निर्वाचनमा प्राप्त जनमतको दम्भमा विधि निर्माणमा एकाधिकार लादेको उहाँको भनाइ छ। दर्ता भएका दर्जनौँ विधेयकमा प्रतिपक्षको सुझाव र असहमतिलाई बेवास्ता गर्दै सत्तापक्षले संख्याको पेलानबाट पेलेर पारित गर्ने काम गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। एमालेले निर्वाचनको पराजयलाई आत्मसमर्पण नभई भावी विजयको अवसरका रूपमा लिएको स्पष्ट पार्दै उहाँले संसद्मा राजनीतिक सहमतिका लागि सभामुखले ठोस अगुवाइ गर्न नसकेको टिप्पणी गर्नुभयो।
यद्यपि पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने जमर्को गर्नु र सत्तारूढ दलकै सांसदहरूले सरकारको शैलीमा प्रश्न उठाउनु सकारात्मक भएको उहाँले बताउनुभयो। गत भदौ १० को महाविपत्तिपछि सर्वपक्षीय संयन्त्र निर्माणको पहललाई स्वागत गर्दै बादलले गठित संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई समावेश नगर्नु गम्भीर त्रुटि भएको औँल्याउनुभयो।