१४ असोज, २०८३ (३० सेप्टेम्बर, २०२६)
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता-कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूसँगको भर्चुअल सम्बोधनका क्रममा अध्यक्ष ओलीले शत्रुका लात सहने तर आफ्ना साथीका बात नसहने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष ओलीले विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र सङ्गठनका हिसाबले एकढिक्का रहेको दाबी गर्नुभयो। भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको उदाहरण दिँदै उहाँले एउटा मोर्चाको परिणामबाट निराश नभई आत्मविश्वासका साथ आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो। साथै, सामाजिक सञ्जाल तथा सूचना प्रविधिको प्रयोगमार्फत पार्टीविरुद्ध फैलाइएका भ्रमको खण्डन गर्दै सरकारमा छँदा गरेका काम र उपलब्धिलाई जनतासम्म पुर्याउन आग्रह गर्नुभयो।
कार्यक्रममा महासचिव शङ्कर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू चाँडै तल्लो तहसम्म पठाइने र सदस्यता नवीकरणको अभिलेखीकरण असोज मसान्तभित्र पूरा गरिने जानकारी दिनुभयो। लगातार तीन बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्थामा कडाइ गरिने उहाँको भनाइ थियो। भर्चुअल कार्यक्रममा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेलका साथै सचिवहरू भानुभक्त ढकाल र पद्मा अर्यालको सहभागिता रहेको थियो।