१३ असोज, २०८३ (२९ सेप्टेम्बर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनको संशोधित औपचारिक कार्यक्रम तथा कार्यतालिका सार्वजनिक गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न बाँकी रहेकाले नयाँ कार्यतालिका निर्धारण गरिएको हो। जसअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली पठाउने समय असोज १५ गतेसम्म तोकिएको छ भने असोज १६ र १७ गते महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेसन कार्य हुनेछ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्च, टुडिखेलमा भव्य रूपमा उद्घाटन गर्ने तय गरिएको छ। त्यसपछि असोज १९ र २० गते महाधिवेशनको बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्र सम्पन्न भएलगत्तै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम सञ्चालन हुने गरी कार्यतालिका स्वीकृत गरिएको निर्वाचन समितिले जनाएको छ।