१२ असोज, २०८३ (२८ सेप्टेम्बर, २०२६)
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्र एकताको सम्भावना अझै कायम रहेको बताउनुभएको छ। डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बलायरले असोज १६ गते हुने १५ औँ महाधिवेशनको उद्घाटन सत्रको अध्यक्षता सभापति शेरबहादुर देउवालाई गराएर असोज १७ गते उहाँलाई सम्मानजनक बिदा गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो।
महामन्त्री गगन थापातर्फ लक्षित गर्दै बलायरले असोज १६ गतेको महाधिवेशन देउवाको अध्यक्षतामा उद्घाटन गराउन सके पार्टीमा अझै एकता सम्भव रहेको दाबी गर्नुभयो। पार्टीभित्रको मुख्य विवाद गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा टिकटमा कसले हस्ताक्षर गर्ने भन्ने विषयबाट सुरु भएको उल्लेख गर्दै उहाँले देउवालाई डडेल्धुराबाट चुनाव लड्ने अन्तिम इच्छा पूरा गर्न दिएको भए अहिलेको परिस्थिति भिन्न हुने तर्क गर्नुभयो।
आफूहरू सुरुदेखि नै चुनावको बिचमा नभई नियमित महाधिवेशनको पक्षधर रहेको र विशेष महाधिवेशनसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको बलायरले बताउनुभयो। असोज १५ गतेदेखि वडा अधिवेशन प्रारम्भ भई महाधिवेशनको प्रक्रिया अघि बढिसकेकाले सबै पक्ष मिलेर जानुपर्नेमा उहाँले जोड दिनुभयो।