१२ असोज, २०८३ (२८ सेप्टेम्बर, २०२६)
चितवन। नारायणी नदीको बाढीले बगाएर पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणी पुलको पिल्लरमा अड्किएको ‘राइनो क्रुज सिप’ हटाउने काम सोमबार बिहानबाट पुनः सुरु गरिएको छ। पुलको पिल्लरमा कमभन्दा कम क्षति पुग्ने गरी बिहान १० बजेसम्ममा क्रुजसिपलाई सुरक्षित रूपमा बाहिर निकाल्ने लक्ष्यसहित प्राविधिक टोली निरन्तर खटिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार ६० टन तौल रहेको उक्त क्रुजसिपभित्र पानी भरिएको र नदीको बहावको गति उच्च रहेकाले प्राविधिक जटिलता देखिएको छ। क्रुजसिप निकाल्न क्रेन र दुईवटा एक्स्काभेटर प्रयोग गरी अड्किएको स्थानसम्म पुग्ने बाटो तयार पारिएको छ। क्रुजसिपलाई बाहिर निकाल्न सिंगै तानेर किनारमा ल्याउने वा सम्भव नभए काटेर टुक्रा पारी निकाल्ने गरी दुईवटा विकल्पमा काम भइरहेको छ।
नारायणी पुलमा क्रुजसिप अड्किएपछि सुरक्षाका कारण पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएकोमा प्राविधिकहरूको सल्लाहपछि बिहानदेखि अत्यधिक भारबहनबाहेकका गाडीहरू चलाउन अनुमति दिइएको छ। भारी गाडीहरू पुलमा दोहोरो नहुने गरी नियन्त्रित रूपमा आवागमन मिलाइएको प्रशासनले जनाएको छ।