११ असोज, २०८३ (२७ सेप्टेम्बर, २०२६)
काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई नेपाल प्रहरीले मध्यराति महाराजगञ्जस्थित उहाँको निवासबाट नियन्त्रणमा लिई टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएको छ। राति १२-१ बजेको समयमा उहाँको निवास पुगेको प्रहरी टोलीले बिहान ३ बजे प्रहरी कार्यालय पुर्याएको हो। प्रहरीले यसलाई पक्राउ नभई ‘सुरक्षा थ्रेट’ का कारण नियन्त्रणमा राखिएको दाबी गरेको छ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले राणामाथि भौतिक क्षति पुर्याउन सक्ने गम्भीर सूचना आएकाले उहाँको सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको बताउनुभयो। निवासमै सुरक्षा नदिई मध्यराति प्रहरी कार्यालय ल्याउनुको कारणबारे स्पष्ट नपारिए पनि तत्कालका लागि जोखिम नमोल्न यो कदम चालिएको प्रहरीको भनाइ छ।
२०७५ पुसमा प्रधानन्यायाधीश बनेका राणामाथि कार्यपालिकामा भागबण्डा मागेको आरोप लागेपछि सर्वोच्चका न्यायाधीश तथा वकिलहरूले इजलास बहिष्कार र आन्दोलन गरेका थिए। पछि २०७८ फागुनमा उहाँविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भई निलम्बनमा परेका थिए। महाभियोग सिफारिस समितिले उहाँमाथि महाभियोग लगाउन पर्याप्त आधार रहेको निष्कर्ष निकाले पनि संसद्बाट अन्तिम निर्णय नहुँदै उहाँको कार्यकाल सकिएको थियो।