वालिङ (स्याङ्जा), ११ असोजः कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएका छन् । आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ । स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको उहाँले जानकारी दिनुभयो ।
पुल बगेपछि मिर्मी–हर्मिचौरबीचको आवतजावत प्रभावित भएको छ ।

यता, धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर र बेनीघाट रोराङ गाउँपालिका-१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध रहेको छ ।
बेनीघाट रोराङ गाउँपालिका-७ का अध्यक्ष कुमार बस्नेतका अनुसार अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकोले कृष्णभिरमा पूर्णरूपमा सडक अवरुद्ध रहेको छ ।
उनले भनेका छन्, ‘नयाँ ट्र्याक खोल्ने क्रममा प्लास्टिकले छोपिएको भागबाट वर्षाका कारण लेदोसहितको पहिरो खसिरहेको छ । लेदोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा बन्द छ । गाडी चलाउन सक्ने अवस्था छैन ।’

प्रहरीका अनुसार अन्य विभिन्न स्थानमा पनि स-साना पहिरो खसेको र ती ठाउँहरूमा सडक एकतर्फी सञ्चालनमा रहेको डीएसपी प्रकाश दाहालले बताए ।