काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार पक्राउ गरेको हो । उनीविरुद्धको कसुर भने खुलाइएको छैन ।
महाराजगञ्जस्थित निवासबाटै उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
उनी १७ पुस २०७५ मा प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।
महाअभियोग लामो समयसम्म संसद्मा अलपत्र भएको थियो । संसद्को अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेखेका थिए ।
संसद् सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । २४ भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो ।
प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वको संवैधानिक इजलासले यससम्बन्धी चार वटा रिट खारेज हुने फैसला सुनाएको थियो ।
महाराजगञ्जस्थित निवासबाटै उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र शमसेर जबरा राणा प्रधानमन्त्री वीरशमशेर जबराका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर शमशेरका छोरा ईन्द्र शमशेरका नाति हुन् । चोलेन्द्रका बाबु युवराज शमशेर तत्कालिन राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।
वकालत पेशा गर्दागर्दै चोलेन्द्र ०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतको सदस्य पनि भए ।
पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । त्यसबेला संसदीय सुनुवाइ समितिमा एमाले र माओवादीले जबराको विपक्षमा मत दिएका थिए । तर पछि, उनी एमाले र माओवादी मिलेर बनेको नेकपाकै साथ पाएर प्रधानन्यायाधीश बनेका थिए ।
उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका थिए । तर मन्त्रिपरिषद सदस्यको भागबण्डा लगायतका काण्डमा मुछिएपछि उनी विवादित बनेका थिए ।
उनीविरुद्ध कानुन व्यवसायीहरुले आन्दोलन समेत गरेका थिए ।