१० असोज, २०८३ (२६ सेप्टेम्बर, २०२६)
काठमाडौँ। नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य नैनसिंह महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउने डडेल्धुरा कांग्रेसको अधिवेशनले सर्वसम्मत निर्णय गरेको छ। डडेल्धुराका प्रदेशसभा ‘क’, ‘ख’ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट पारित निर्णयमार्फत देश तथा विदेशबाट महाधिवेशनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधिलाई महरको पक्षमा उभिन औपचारिक अपिल गरिएको छ।
पारित अपिलमा महरको उम्मेदवारी कुनै व्यक्ति वा समूह विशेषको पक्षमा मात्र नभई कांग्रेसलाई ज्ञानमा आधारित (नलेज-ड्रिभन), पारदर्शी, जवाफदेही र राष्ट्रिय हितकेन्द्रित (नेसन-सेन्ट्रिक) बनाउने साङ्गठनिक रूपान्तरणको प्रस्ताव भएको उल्लेख छ। महरले अघि सारेको कांग्रेसलाई ‘इभेन्ट-ड्रिभन’ नभई ‘पर्फमेन्स सेन्टर’ का रूपमा विकास गर्ने अवधारणालाई डडेल्धुरा कांग्रेसले संस्थागत आवश्यकताका रूपमा प्रस्तुत गरेको छ।
इतिहासको सम्मान गर्दै पुस्तान्तरण र नयाँ सोचसहित अघि बढ्न महरलाई योग्य नेतृत्वका रूपमा प्रस्तुत गर्दै डडेल्धुरा कांग्रेसले देशभरका महाधिवेशन प्रतिनिधिसमक्ष समर्थनका लागि राजनीतिक आधार तयार गरेको छ।