९ असोज, २०८३ (२५ सेप्टेम्बर, २०२६)
काठमाडौँ। बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय चक्रको प्रभावका कारण भारी वर्षा सुरु भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार र शनिबार दुई दिन सार्वजनिक तथा निजी यातायात सञ्चालनमा रोक लगाएको छ। प्राधिकरणले शुक्रबार साँझ आपत्कालीन सूचना जारी गर्दै रेड अलर्ट (रातो रङ) मा राखिएका ती जिल्लाहरूमा अत्यधिक वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेकाले गाडी नचलाउन निर्देशन दिएको हो।
यातायात ठप्प पारिएका २५ जिल्लाहरूमा कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका रहेका छन्। जसअन्तर्गत सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर; कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत; लुम्बिनीका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जा रहेका छन्।
यसैबिच, धेरै वर्षाको सम्भावना रहेका अन्य ३० जिल्ला (सुन्तला रङ) मा रातिको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ भने दिउँसोको हकमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टले निर्णय गर्नेछ। बाँकी २२ जिल्ला (पहेँलो रङ) मा भने सतर्कता अपनाउन र बाढी-पहिरोको पूर्वतयारीमा रहन प्राधिकरणले आग्रह गरेको छ।