काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः मेची राजमार्ग र सिद्धिचरण लोकमार्ग अवरुद्ध

काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः मेची राजमार्ग र सिद्धिचरण लोकमार्ग अवरुद्ध

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

  • शुक्रबार, अशोज ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

दमौली (तनहुँ), ९ असोजः तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ ।

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

हालको अवस्थालाई मध्यनजर गर्दै सम्भव भएसम्म यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।

सेवा तथा सहयोग आवश्यक परेमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

उता लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।

मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सडक अवरुद्ध भएको हो । बाढीले सडकको भाग काटेर गहिरो बनाई करिब १५ मिटर सडकमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालय हर्कपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक खुलाउन नसकिएपछि आवतजावत पूर्ण रूपमा बन्द छ ।

मेची राजमार्ग अवरुद्ध 
मेची राजमार्गको कावेली–ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको छ । मेवाखा भन्ने स्थानमा पहिरो झरेकोले सडक अवरुद्ध भएको इलाम सडक डिभिजन कार्यालयका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पहिरो पन्छाउनका लागि मेसिन पठाइसकिएको छ ।

तर, अरू पनि पहिरो झर्न सक्ने भएकाले अत्यावश्यकबाहेक सवारी नचलाइदिन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

भारी वर्षाको जोखिमसँगै हुनसक्ने खतराबाट बच्न सर्वसाधारणलाई सुरक्षित अवस्थामा रहन आग्रह गरिएको हो । मौसम विज्ञान विभागले लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि प्रदेश सरकारले विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाएको छ ।

प्रदेश सरकारले १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, स्थानीय तह तथा सामाजिक सङ्घसंस्थासँग समन्वय गरी सम्भावित जोखिम र प्रतिकार्यको तयारी गरिरहेका छन् ।

प्रदेशका जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाह, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले सम्भावित विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र प्रदेश सरकारले जिल्ला तथा स्थानीय तहसँग निरन्तर समन्वय गरिरहेको छ ।

प्रमुख सचिव विनोदबहादुर कुँवरले जोखिम क्षेत्र पहिचान गरी सोहीअनुसार विपद् प्रतिकार्यको तयारीलाई मजबुत बनाइएको छ । सुरक्षा निकाय, स्थानीय प्रशासन र सम्बन्धित सरोकारवाला निकायबीच सूचना आदानप्रदान तथा आवश्यक स्रोतसाधन परिचालनका लागि समन्वय भइरहेको छ ।

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पहिरो, भूक्षय र बाढीको जोखिम बढी रहेको छ भने तराईका जिल्लामा नदी तथा खोलामा पानीको सतह बढ्दा बाढी र डुबानको जोखिम बढ्ने देखिएको छ ।

प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले पनि आजदेखि १२ गतेसम्म सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न आग्रह गरेको छ ।

मन्त्रालयले बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहने भएकाले सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न अनुरोध गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ