काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठक आह्वान गरेका छन्। उक्त बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा देशको विद्यमान समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको कार्यतालिकाबारे विस्तृत छलफल हुनेछ। भोटेकोशी बाढीका कारण उत्पन्न परिस्थितिका साथै तल्लो तहसम्म सदस्यता नवीकरण तथा टुङ्गो लगाउन बाँकी रहेकाले तोकिएको महाधिवेशन कार्यतालिकामा फेरबदल हुनसक्ने सम्भावना छ।
नेकपाले यसअघि आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो। जसका लागि भदौ १५ गतेभित्र वडा र भदौ मसान्तसम्म स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि तयारी र विपद्का कारण समय तालिका प्रभावित भएको हो।