काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र मौलाउँदै गएको अनुशासनहीनता, आन्तरिक गुटबन्दी र सार्वजनिक अभिव्यक्तिप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सोमबारदेखि ललितपुरको भनीमण्डलस्थित रामबाग पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्तरिक असहमतिलाई बैठकमै नराखी सामाजिक सञ्जाल र मिडियामा छताछुल्ल पार्ने कार्यलाई ‘अराजकता’ को संज्ञा दिएका छन्।
देश अहिले जटिल मोडमा रहेको, लोकतन्त्र र संविधानमाथि चौतर्फी हमला भइरहेको उल्लेख गर्दै ओलीले यस्तो सङ्कटको समयमा सम्पूर्ण पार्टी पङ्क्ति एक ढिक्का हुनुपर्नेमा जोड दिए। महाधिवेशनको निर्णय अस्वीकार गर्दै सार्वजनिक रूपमा अध्यक्ष हटाउने अभिव्यक्ति दिने र सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने छुट कसैलाई नभएको भन्दै उनले विधि, पद्धति र अनुशासनभित्र रहेर मात्र बहस गर्न निर्देशन दिए।
साथै, भदौ १० गतेको बाढीपहिरापछिको उद्धारमा एमालेले खेलेको भूमिकाको प्रशंसा गर्दै ओलीले सरकारले राहत वितरणमा असक्षमता देखाएको र अफवाह फैलाएको आरोपसमेत लगाए।