काठमाडौँ। भोटेकोसी बाढीबाट अति प्रभावित तीन जिल्ला (रसुवा, नुवाकोट र धादिङ) बाहेक देशभरका ७३ जिल्लाका अधिकांश वडाहरूमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। असोज ३ र ४ गते तय गरिएको वडा अधिवेशन प्रक्रियाअन्तर्गत ६ हजार ७४३ वडामध्ये ६ हजार १३२ वडामा अधिवेशन सकिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा आइतबार साँझ जारी विज्ञप्तिअनुसार प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट र धादिङमा मात्र अधिवेशन हुन सकेको छैन।
यसैबिच, अन्य ७३ जिल्लाका केही क्षेत्रहरू जस्तै मोरङ निर्वाचन क्षेत्र नं. ६, सुनसरी क्षेत्र नं. २ र ४, सर्लाही क्षेत्र नं. २, रौतहट क्षेत्र नं. १ तथा नवलपरासी पूर्व क्षेत्र नं. २ मा पनि प्राविधिक कारणले अधिवेशन बाँकी रहेको छ। छुट भएका यी क्षेत्रका वडाहरूमा असोज ५ गते अधिवेशन सम्पन्न गरिने सदस्य सचिव कटुवालले जानकारी दिएका छन्।