काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले जेन–जी पुस्ताका सांसदहरूलाई संसद्मा सरकारमाथि प्रश्न मात्रै उठाउनेभन्दा पनि समस्याको समाधानका उपाय र सुधारका ठोस अवधारणा प्रस्तुत गर्न आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित ३० वर्षमुनिका केही सांसदसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले युवा सांसदहरूको प्रस्तुति पुरानो पुस्ताभन्दा फरक हुनुपर्ने बताएका हुन्। उनले संसद्का गतिविधिलाई आफूले गम्भीर रूपमा नियालिरहेको उल्लेख गर्दै प्रश्नसँगै समाधानका उपाय पनि प्रस्तुत गर्न सांसदहरूलाई आग्रह गरेका थिए।
छलफलमा सहभागी सांसदहरूका अनुसार प्रधानमन्त्री शाहले संसद्मा प्रश्न मात्रै उठ्ने तर त्यसको समाधानका लागि आवश्यक सुझाव र अवधारणा नआउँदा सरकारलाई काम गर्न कठिन भएको बताएका थिए। संसद् प्रश्न गर्ने थलो मात्रै नभई समाधान खोज्ने र सुधारका लागि पहल गर्ने ठाउँसमेत भएको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले युवा पुस्तालाई राजनीति मात्र नभई सूचना प्रविधि, चलचित्र, साहित्य, संगीत, खेलकुद, पर्यटन तथा रोजगारीका क्षेत्रमा जोड्नुपर्नेमा पनि जोड दिएका थिए। नेपालमा रोजगारीका अवसर सीमित रहेको उल्लेख गर्दै युवालाई उद्यमशीलता र स्टार्टअपतर्फ आकर्षित गर्नुपर्ने उनको धारणा थियो।
सांसद स्मृति सेन्चुरीका अनुसार प्रधानमन्त्रीले युवा पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अघि बढाउन युवा सांसदहरूले समेत भूमिका खेल्नुपर्ने बताएका थिए। युवाका लागि नयाँ प्लाटफर्म निर्माण तथा स्टार्टअपलाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन उनले सुझाव दिएका थिए।
त्यस्तै, सांसद सुलभ खरेलले जेन–जी आन्दोलनका मागअनुसार निर्वाचन प्रणाली र राजनीतिक दलसम्बन्धी कानुनमा सुधार गर्नुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेका थिए। समाजमा देखिएका समस्यालाई नीतिगत सुधारमार्फत दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्ने र कानुनी प्रक्रिया पालना गरेर अघि बढ्नुपर्ने उनको धारणा थियो।
सांसद शिवशंकर यादवले युवापुस्ताको राजनीति फरक शैलीको हुनुपर्ने विषयमा प्रधानमन्त्रीको जोड रहेको बताए। उनले युवालाई सूचना प्रविधि र खेलकुदसँग जोड्नुपर्ने, मधेस प्रदेशमा लागुऔषधको कुलतमा फसेका युवालाई सही दिशामा ल्याउन सरकारी पहल आवश्यक रहेको तथा खेलकुदमार्फत रोजगारी सिर्जना गर्नुपर्ने विषय उठाएका थिए।
यादवले सरकारी नियुक्तिमा समावेशिताको विषयसमेत प्रधानमन्त्रीसमक्ष राखेका थिए। मेरिटोक्रेसीका नाममा समावेशितामा कमी देखिएको भन्दै उनले सबै समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए।
जवाफमा प्रधानमन्त्री शाहले सरकारको नेतृत्वमा आफूहरू सुरुवाती चरणमै रहेकाले विभिन्न पक्षबाट आएका सुझावका आधारमा सुधार गर्दै अघि बढिरहेको बताएका थिए। सांसद यादवका अनुसार प्रधानमन्त्रीले ‘यो पहिलो सेमेस्टर हो भनेर लिनुपर्छ। हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्, सुधार गर्दै अगाडि बढाउनुपर्छ’ भनेका थिए।
सांसद केपी खनालले बैठकमा सूचना प्रविधिमा युवालाई प्रोत्साहन, खेलकुदको आधारभूत संरचनामा सुधार, सहर तथा नदीको सौन्दर्यीकरण र पर्यटन प्रवर्द्धनका विषय उठाएका थिए। सुदूरपश्चिमका विभिन्न पर्यटकीय क्षेत्रमा प्रवर्द्धनका कार्यक्रम अघि बढाउन तथा यस्ता काममा प्रदेश र स्थानीय सरकारसँग समेत सहकार्य गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
खनालका अनुसार प्रधानमन्त्री शाहले जेन–जी पुस्ताका सांसदहरूको प्रस्तुति आगामी पुस्ताको भावना प्रतिबिम्बित हुने गरी फरक र नयाँ अवधारणासहित आउनुपर्ने बताएका थिए। युवा सांसदहरू राजनीतिसँगै व्यावसायिक क्षेत्रमा पनि जोडिनुपर्नेमा उनले जोड दिएका थिए।
प्रधानमन्त्रीले संसद्को कार्यकालपछि पनि आफ्नो जीविकोपार्जनका लागि व्यवसाय तथा उद्यममा जोडिन युवा सांसदहरूलाई सुझाव दिएका थिए। युवा सांसदहरूलाई उदाहरणका रूपमा हेरेर अन्य युवाले पनि व्यवसाय र उद्यमशीलतातर्फ प्रेरणा लिन सक्ने उनको धारणा थियो।