राष्ट्रियसभाः जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड

राष्ट्रियसभाः जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड

  • शुक्रबार, अशोज २, २०८३
  • मिर्मिरे अनलाइन

  • 152
    SHARES

काठमाडौँ, २ असोजः राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक कमला पन्तले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, हिमताल, नदी प्रणाली तथा मानव बस्तीमा बढ्दो जोखिम कम गर्नका लागि विपद्पूर्व तयारी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा प्रमुख सचेतक पन्तले हिमाल नेपालको सौन्दर्य मात्र नभई पानीको प्रमुख स्रोतसमेत भएकाले हिमनदी र हिमतालमा आउने परिवर्तनले कृषि, खानेपानी, जलविद्युत्, जैविक प्रणाली तथा तल्लो तटीय क्षेत्रका नागरिकको जीवनमा प्रत्यक्ष असर पार्ने बताउनुभयो ।
“हिमनदीमा परिवर्तन हुन्छ, हिमतालमा परिवर्तन हुन्छ । बाढी र पहिरोको जोखिममा परिवर्तन हुन्छ । जलविद्युत् आयोजना, सडक र पुलको जोखिम बदलिन्छ । कृषि र खानेपानी प्रणाली प्रभावित हुन्छ र अन्ततः यसको असर मानव बस्तीमा पुग्छ,” उहाँले भन्नुभयो ।
प्रमुख सचेतक पन्तले जलवायु परिवर्तनलाई वातावरण मन्त्रालयको मात्र विषयका रूपमा नहेरी अर्थ, ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार तथा स्थानीय सरकारसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति विपद्का समयमा थप जोखिममा पर्ने भएकाले उनीहरूको सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।
प्रमुख सचेतक पन्तले विपद् आएपछि उद्धार गर्ने परम्पराभन्दा विपद् आउनुअघि नै सम्भावित जोखिम पहिचान गरी तयारी गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
“नेपालले विपद् आएपछि उद्धार गर्ने होइन, विपद् आउनुअघि नै तयारी गर्नुपर्छ । विज्ञहरूले दिएका सुझावलाई राज्यले कार्यान्वयन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
जल तथा मौसम विज्ञान विभागले नदी, मौसम, जलविज्ञान तथा पूर्वसूचना प्रणालीका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै प्रमुख सचेतक पन्तले विभागको क्षमता वृद्धि गरी पूर्वसूचना प्रणालीलाई स्थानीय तह हुँदै जोखिममा रहेका नागरिकको घरदैलोसम्म पु¥याउनुपर्ने बताउनुभयो ।
मोबाइल तथा स्मार्टफोनको पहुँच नभएका नागरिकसम्म सूचना पु¥याउन रेडियोलगायत स्थानीय सञ्चारमाध्यमको प्रभावकारी उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । प्रमुख सचेतक पन्तले हिमताल फुट्ने वा नदीको जलाधारमा अचानक पानीको सतह बढ्ने अवस्था आएमा जोखिममा रहेका नागरिकले कति समयअघि सूचना पाउँछन् भन्ने विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
बाढीको सम्भावित मार्गमा रहेका विद्यालय, स्वास्थ्य संस्था तथा बस्तीको जोखिम नक्साङ्कन गर्नुपर्ने र जोखिमयुक्त क्षेत्रमा बस्ती बसाउन मिल्ने वा नमिल्ने विषयमा स्पष्ट मापदण्ड बनाउनुपर्नेमा प्रमुख सचेतक पन्तले जोड दिनुभयो । सडक, पुल तथा जलविद्युत् आयोजनाको जलवायु जोखिम मूल्याङ्कन र अनुकूलनका उपायलाई पनि विकास निर्माणसँग जोड्नुपर्ने उहाँको भनाइ थियो ।
“मानवीय क्षति भयो भने त्यसलाई फर्काएर ल्याउन सकिँदैन । त्यसैले पूर्वतयारीको पहिलो प्राथमिकता नै मानवीय क्षति हुनबाट जोगाउनु हो,” उहाँले भन्नुभयो ।
प्रमुख सचेतक पन्तले गण्डकी क्षेत्रमा हिमाली जलवायु तथा हिमनदीसम्बन्धी अनुसन्धान र अनुगमन केन्द्र स्थापना गर्न सरकारसँग  माग गर्नुभयो । हिमाली क्षेत्रका सबै जिल्लामा जोखिमको एकीकृत अध्ययन आवश्यक रहेको बताउँदै उहाँले सूचना सिंहदरबार वा प्रदेश राजधानीसम्म मात्र सीमित नराखी जिल्ला सदरमुकाम हुँदै जोखिममा रहेका नागरिकको घरदैलोसम्म पु¥याउनुपर्ने बताउनुभयो ।
हिमालदेखि नदीको तल्लो तटीय क्षेत्रसम्मको जोखिमको एकीकृत नक्सा तयार गरी त्यसका आधारमा विकास योजना निर्माण गर्नुपर्ने प्रमुख सचेतक पन्तको सुझाव छ । उहाँले सडक, पुल, जलविद्युत् तथा पर्यटन पूर्वाधार निर्माण गर्दा जलवायु तथा विपद् जोखिमको मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।
“केही वर्षपछि बाढीले बगाउने संरचना निर्माण गर्नु विकास हो कि होइन भन्ने विषयमा सोच्नुपर्छ,” उहाँले भन्नुभयो । स्थानीय समुदायसँग आफ्नो भूगोल, खोलानाला, पहिरो तथा सुरक्षित स्थानसम्बन्धी परम्परागत ज्ञान हुने भएकाले वैज्ञानिक ज्ञान र स्थानीय अनुभवलाई एकीकृत गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रमुख सचेतक पन्तले नेपालका सबै जिल्लालाई एउटै ढाँचामा विकास गर्नुभन्दा भौगोलिक, सांस्कृतिक तथा प्राकृतिक विविधतालाई आर्थिक सम्भावनाका रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले मुस्ताङ र मनाङको हिमाली जैविक विविधता, पदमार्ग, तिब्बती–थकाली संस्कृति, हिमाली सभ्यता, विशिष्ट भू–दृश्य, स्याउ तथा जडीबुटीलाई आर्थिक सम्भावनाका रूपमा उपयोग गर्न सकिने बताउनुभयो ।
त्यसैगरी, गोरखा र लमजुङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, गुरुङ–घले संस्कृति, ग्रामीण पर्यटन र जलविद्युत्को सम्भावना, कास्की र तनहुँको पर्यटन, तालतलैया, बन्दीपुर, देवघाट, धार्मिक–सांस्कृतिक पर्यटन तथा कृषि क्षेत्र, स्याङ्जा र पर्वतको सुन्तला, कफी, पहाडी उद्यम र कृषि प्रविधि, तथा बागलुङ र म्याग्दीको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्नुपर्ने प्रमुख सचेतक पन्तले बताउनुभयो । जलवायु जोखिम न्यूनीकरणसँगै स्थानीय स्रोत, ज्ञान र विविधताको संरक्षणमार्फत आर्थिक अवसर सिर्जना गर्नुपर्ने उहाँको धारणा थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी