लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले तोकेका अधिकारहरू प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न संघीय सरकारले अझै आनाकानी गरिरहेको गुनासो गरेका छन्। संविधान दिवसका अवसरमा शुक्रबार बिहान देउखुरीस्थित प्रदेश प्रशासनिक परिसरमा आयोजित सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
मुख्यमन्त्री आचार्यले संविधानले निर्दिष्ट गरेका अधिकारको पूर्ण कार्यान्वयनबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने भन्दै तत्काल अधिकार हस्तान्तरणका लागि संघ सरकारको ध्यानाकर्षण गराए। तीनै तहका सरकारबिच समन्वय र सहकार्य हुनुपर्नेमा उनले जोड दिए। लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा दुई दिनसम्म विविध कार्यक्रम आयोजना गरिरहेको छ।
सोही अवसरमा प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई २३ क्षेत्रमा विभाजन गरी नमुना योग्य बनाउने गरी सरसफाइ, फलफूलका बिरुवा रोपण र संरक्षण अभियान सुरु गरिएको जानकारी दिए। परिसरको सुधार र सरसफाइको मूल्यांकन गरी उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्न प्रदेश योजना आयोगका सचिवको नेतृत्वमा टोली गठन गरिएको छ।