काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकअघि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बसिरहेको छ। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार देउवा समूह छाडेर संस्थापन पक्षमा फर्किएका नेताहरूलाई केन्द्रीय सदस्य मनोनयन गर्ने एजेन्डामा छलफल गर्न उक्त बैठक बोलाइएको हो। हालसम्म देउवा पक्षका ४० भन्दा बढी नेताहरूले संस्थापन पक्षमा आउन नाम टिपाइसकेका छन्।
सभापति गगन थापाको अध्यक्षतामा केही दिनअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४ौँ महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट निर्वाचित सरहको हैसियत दिने निर्णय गरेपछि देउवा पक्षका नेताहरू थापा नेतृत्वको संस्थापनतिर खुल्न थालेका हुन्। आजै बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा यसरी मनोनीत हुने नयाँ केन्द्रीय सदस्यहरू समेत सहभागी हुनेछन्।
संस्थापन पक्षले आगामी असोज ३ गतेदेखि १५ौँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु गर्ने कार्यतालिका तय गरेको छ। अर्कातर्फ, पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरी असोज १५ गतेदेखि आफ्नै नेतृत्वमा १५ौँ महाधिवेशनका प्रक्रियाहरू सुरु गर्ने घोषणा गरेपछि कांग्रेसभित्र समानान्तर गतिविधिको ध्रुवीकरण थप चुलिएको छ।