काठमाडौँ। नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को आज (बिहीबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित भएको छ। दुवै प्रतिवेदनमाथि छलफल गरी साझा प्रस्ताव तयार पार्ने कार्यसूची रहे पनि संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले एक्लै अन्तिम प्रस्ताव लेखनको जिम्मा लिन खोजेपछि बैठक बस्न नसकेको हो।
काभ्रेको बल्थली बैठकमा महासचिव शंकर पोखरेलले तल्ला कमिटीका सुझावका आधारमा तयार पारेको ६५ पृष्ठको प्रतिवेदनविरुद्ध संयोजक बादलले नै काउन्टर प्रतिवेदन पेस गरेका थिए। बादलले कार्यदलको औचित्यमाथि प्रश्न उठाउँदै अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने नियत राखिएको आरोप लगाएका थिए।
विवाद समाधानका लागि बल्थली बैठकले उपाध्यक्षद्वय बादल र विष्णु पौडेल तथा महासचिव पोखरेल सम्मिलित तीन सदस्यीय उप-कार्यदल गठन गरी एकीकृत प्रस्ताव ल्याउने जिम्मेवारी दिएको थियो। तर, अन्य दुई नेतालाई पन्छाएर संयोजक बादलले एक्लै प्रस्ताव लेख्ने अडान लिएपछि अन्य सदस्यहरू असन्तुष्ट बनेका छन्। असोज ५ देखि ७ गतेसम्म तय भएको केन्द्रीय कमिटी बैठक नजिकिँदै गर्दा एमालेभित्र पुनर्गठन र नेतृत्वको विवाद थप जटिल बनेको छ।