काठमाडौँ, ३१ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
यस्तै, अपराह्न १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन ’ सभासमक्ष पेस गर्नुहुनेछ ।
यस्तै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यसैगरी, आजै विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्याङ्कन समितिको बैठक बस्ने कार्यतालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।