काठमाडौँ। नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को काभ्रेस्थित बल्थलीमा तीन दिनसम्म बसेको आवासीय बैठक कुनै ठोस निष्कर्षमा नपुगी सकिएको छ। बैठकमा सहमति जुट्न नसकेपछि अन्तिम प्रस्ताव तयार पार्न संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सदस्य सचिव शंकर पोखरेल सम्मिलित तीन सदस्यीय उप-कार्यदल गठन गरिएको छ।
बैठकभर संयोजक थापाले कार्यदलको औचित्यमाथि नै प्रश्न उठाउँदै महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनलाई काउन्टर दिने प्रयास गरेका थिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीको दबाबमा थापाले पोखरेलको ६५ पृष्ठको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल खारेज वा प्रतिवेदन पुनर्लेखनको अडान लिएको बैठकमा सहभागी एक सदस्यले बताए। महासचिव पोखरेलको मस्यौदामा अध्यक्ष ओलीको ‘ग्रेसफुल एक्जिट’ र पार्टी पुनर्गठनको प्रस्ताव गरिएकाले ओली पक्ष सशङ्कित बनेको छ।
थापाको काउन्टर प्रतिवेदनको पक्षमा थापा स्वयं र सचिव महेश बस्नेत मात्र उभिएका थिए भने तल्ला कमिटीका सुझावका आधारमा तयार पारिएको पोखरेलको मस्यौदाकै पक्षमा बहुमत सदस्य देखिएका छन्। उप-कार्यदलले सम्पादन गरेको प्रतिवेदन असोज १ गते बस्ने कार्यदलको बैठकमा पेस गरिनेछ। असोज ५ देखि ७ गतेसम्म तय भएको केन्द्रीय कमिटी बैठकअघि नै प्रतिवेदन पारित गर्ने तयारी भए पनि अध्यक्ष ओली र पुनर्गठन पक्षधर नेताहरूबीचको विवाद थप उत्कर्षमा पुगेको छ।