काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन तयारीका लागि चारवटा समिति गठन गर्दै तिनका संयोजकहरू तोकेको छ। महाधिवेशन तयारी समितिका संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय निर्वाचन, सदस्यता व्यवस्थापन, अनुशासन र विधान मस्यौदा समिति गठन गरी संयोजकको जिम्मेवारी सुम्पिएका हुन्।
सचिवालय समन्वय समितिका प्रमुख दीपकप्रसाद कुईकेलका अनुसार केन्द्रीय निर्वाचन समितिमा एगराज पोखरेल, सदस्यता व्यवस्थापन समितिमा किरणराज शर्मा, अनुशासन समितिमा पद्मनारायण चौधरी र विधान मस्यौदा समितिमा शिव हुमागाईंलाई संयोजक तोकिएको छ। देउवा पक्षले असोज ९ गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने र असोज १५ देखि वडा अधिवेशन सुरु गरी आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
अर्कातर्फ, संस्थापन पक्षले भने असोज ३ र ४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने घोषणा गरिसकेकाले कांग्रेसभित्र महाधिवेशनको वैधानिकतालाई लिएर समानान्तर गतिविधि र आन्तरिक विवाद झन् चुलिएको छ।