काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पदमा निरन्तरता दिने वा मार्गप्रशस्त गराउने भन्ने विषयमा सहमति जुटाउन वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल सम्मिलित तीन सदस्यीय टोलीलाई प्रतिवेदन सम्पादनको अन्तिम जिम्मेवारी दिइएको छ। काभ्रेको बल्थलीमा दुई दिनसम्म चलेको कार्यदलको आवासीय बैठकमा दुई भिन्न प्रतिवेदनमाथि मतैक्यता हुन नसकेपछि यो कदम चालिएको हो।
गत फागुन २१ को निर्वाचनमा पराजय भोगेपछि जेठ १० मा गठित कार्यदलका सदस्यसचिव शंकर पोखरेलले देशैभरका सुझाव समेटेर अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने र ७० वर्षे उमेर हद कायम राख्नुपर्ने ६५ पृष्ठको प्रतिवेदन तयार पारेका थिए। तर, अध्यक्ष ओलीको असहमतिपछि संयोजक बादलले ओलीलाई निरन्तरता दिने गरी ३९ पृष्ठको छुट्टै प्रतिवेदन पेस गरेका थिए। दुवै प्रतिवेदनमाथि बल्थली बैठकमा छलफल भए पनि सदस्यहरू विभाजित बनेपछि एकीकृत प्रतिवेदन बनाउन तीन नेतालाई तोकिएको हो।
सम्पादनको जिम्मेवारी पाएका पौडेल र पोखरेल दुवै ओलीले पद छाड्नुपर्ने वा पुनर्गठन हुनुपर्ने पक्षमा रहेकाले नयाँ प्रतिवेदनमा पोखरेलकै मस्यौदाका धेरैजसो संगठनात्मक र नीतिगत प्रस्तावहरू कायम रहने सम्भावना बलियो देखिएको छ। सचिव महेश बस्नेतले नेतृत्व हस्तान्तरण अध्यक्षको सहमति र वैधानिक प्रक्रियाबाट मात्र हुने दाबी गरे पनि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले भने पार्टी पुनर्गठन र रूपान्तरणका लागि पोखरेलको मस्यौदा नै मुख्य आधार बन्ने स्पष्ट पारेका छन्। तीन नेताले सम्पादित प्रतिवेदन अध्यक्ष ओलीसँगको परामर्शपछि अन्तिम रूप दिई केन्द्रीय सचिवालयमा पेस गर्ने जनाइएको छ।