काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष (इतरपक्ष) ले सभापति गगन थापाको नेतृत्वमा आयोजना हुन लागेको विशेष महाधिवेशन तथा अधिवेशन प्रक्रियामा सहभागी नहुन मातहतका कार्यकर्ताहरूसँग अपिल गरेको छ। सोमबार आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पत्रकार सम्मेलन आयोजना गर्दै असोज ३ गतेदेखि विधि र प्रक्रिया मिचेर सुरु गर्न लागिएको तथाकथित महाधिवेशन बहिष्कार गर्न आग्रह गरेका हुन्।
इतर पक्षको बैठकपछि आयोजित पत्रकार सम्मलेनमा बोल्दै डा. कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले तय गरेको आधिकारिक कार्यतालिका अनुसार नै पार्टीका कार्यक्रम अघि बढ्ने बताए। जसअनुसार असोज १५ गतेदेखि वडा तहको अधिवेशन सुरु गरी आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए।
थापा नेतृत्वको विशेष महाधिवेशन समितिले असोज ३ गतेदेखि नै वडा अधिवेशन सुरु गर्ने घोषणा गरिसकेका बेला कोइराला पक्षले भने उक्त प्रचारप्रसारलाई गैरजिम्मेवार र भ्रामक भन्दै कुनै पनि प्रलोभन वा भ्रममा नपर्न नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आह्वान गरेको छ। यस निर्णयसँगै नेपाली कांग्रेसभित्र महाधिवेशनको वैधानिकता र कार्यतालिकालाई लिएर आन्तरिक विवाद थप उत्कर्षमा पुगेको छ।