काठमाडौँ। चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतले आयोजना गरेको १८ औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन ६ वर्षपछिको भारत भ्रमणका क्रममा शनिबार राजधानी नयाँ दिल्ली आइपुगेका छन्। सी सन् २०१४ पछि पहिलोपटक दिल्ली पुगेका हुन् भने यसअघि सन् २०१९ मा तमिलनाडुको मामल्लापुरममा आयोजित अनौपचारिक शिखर बैठकका लागि भारत आएका थिए।
सीसँगै चिनियाँ कम्युनिस्ट पार्टीका शक्तिशाली पोलिटब्युरो सदस्य काई क्वी र विदेशमन्त्री वाङ यीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल दिल्ली आइपुगेको छ। दुईदिने शिखर सम्मेलनको पार्श्वमा राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ। सम्मेलनका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियन, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालगायतका राष्ट्रप्रमुखहरू दिल्ली पुगिसकेका छन् भने ब्राजिलका राष्ट्रपतिको प्रतिनिधित्व विदेशमन्त्री माउरो भिएराले गरिरहेका छन्।
‘लचिलोपन, नवप्रवर्तन, सहकार्य र दिगोपनका लागि निर्माण’ भन्ने मूल नाराका साथ भारत मण्डपममा सुरु भएको सम्मेलनमा समावेशी विश्व शासन र बहुपक्षीयतालाई सुदृढ बनाउने विषयमा छलफल भइरहेको छ। सम्मेलनलाई लक्ष्य गरी नयाँ दिल्लीमा १५ हजार प्रहरी र अर्धसैनिक बलका २०० कम्पनीसहित ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी कडा सुरक्षा व्यवस्था मिलाइएको छ।