काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई आगामी २४ सेप्टेम्बर (असोज ८) मा सम्बोधन गर्ने भएका छन्। न्यूयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा २२ देखि २८ सेप्टेम्बरसम्म सञ्चालन हुने उच्चस्तरीय ‘जनरल डिबेट’ मा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल संयुक्त राज्य अमेरिका जाने तय भएको हो। यस पटकको महासभाको मूल नारा ‘विश्वासको पुनर्बहाली, रूपान्तरणको व्यवस्थापन: सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ’ रहेको छ।
गत वर्षको ‘जेनजी’ आन्दोलन र त्यसपछिको निर्वाचनमार्फत गठित वर्तमान सरकारका विकास, सुशासन र लोकतान्त्रिक यात्राबारे विश्व समुदायलाई आश्वस्त पार्दै अन्तर्राष्ट्रिय सहयोग विस्तारका लागि यो भ्रमणलाई महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ। महासभामा नेपालले मुख्य गरी जलवायु न्याय र विपद् व्यवस्थापनको एजेन्डालाई प्राथमिकताका साथ उठाउनेछ। गत २६ अगस्टमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सन्दर्भ जोड्दै प्रधानमन्त्री शाहले नेपाल जलवायु सङ्कटको अग्रमोर्चामा रहेको यथार्थ प्रस्तुत गर्नेछन्। हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि उच्च जोखिममा परेको भन्दै नेपालले ‘हानि तथा नोक्सानी कोष’ बाट तत्काल र न्यायोचित क्षतिपूर्ति, सहुलियतपूर्ण जलवायु वित्त र प्रविधि हस्तान्तरणका लागि औद्योगिक मुलुकहरूसँग जोडदार दाबी गर्नेछ।
महासभाकै अवसरमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म: जलवायु उत्थानशील भविष्यका लागि कार्य आह्वान’ शीर्षकमा एक उच्चस्तरीय विशेष साइड इभेन्ट आयोजना गर्नेछ। भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले अति कम विकसित, भूपरिवेष्टित विकासोन्मुख, असंलग्न आन्दोलन र ‘जी ७७ र चीन’ का मन्त्रीस्तरीय बैठकहरूलाई सम्बोधन गर्नुका साथै विभिन्न द्विपक्षीय भेटवार्ता गर्नेछन्। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र परराष्ट्र सचिव अमृतबहादुर राईलगायतका उच्च अधिकारीहरू सहभागी रहनेछन्।