काठमाडौँ। भोटेकोसी बाढी प्रभावितहरूका लागि चीनले पठाएको पाँचौँ खेपको आकस्मिक राहत सामग्री शुक्रबार काठमाडौँ आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना (PLA) को वायु सेनाको वाई-२० ‘ए’ (Y-20 ‘A’) विशाल कार्गो विमानमार्फत उक्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो।
विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि एवं नवप्रवर्तनमन्त्री महावीर पुनलाई सो राहत सामग्री हस्तान्तरण गरे। हस्तान्तरण गरिएका सामग्रीहरूमा डिजेल जेनेरेटर, मेडिकल प्रोटेक्टिभ मास्क, शव राख्ने मर्चरी फ्रिजर, डीएनए परीक्षण उपकरण तथा रिएन्जेट र जल उद्धारका आधुनिक उपकरणहरू रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा मृतकहरूको पहिचान र राहत कार्यलाई तीव्रता दिन यी सामग्रीले ठूलो सहयोग पुर्याउने मन्त्री पुनले बताए। चीन सरकारले पनि बाढी प्रभावितहरूको उद्धार तथा पुनर्स्थापनाका लागि निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।