काठमाडौँ। आन्तरिक विवाद र कानुनी उल्झनका कारण नेपाली कांग्रेसभित्र फुटको सङ्कट गहिरिँदै जाँदा संस्थापन र इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन अलग-अलग गर्ने तयारी गरेका छन्। कुनै अप्रत्यासित सहमति नभएमा कांग्रेसमा दुई वटा महाधिवेशन हुने लगभग निश्चित देखिएको छ।
गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन गर्ने गरी तयारी तीव्र पारेको छ। निर्वाचन समितिले सातै प्रदेशमा निर्वाचन संयोजक खटाइसकेको छ भने वडा, पालिका र क्षेत्रको अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ।
अर्कोतर्फ, निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको इतर पक्षले असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरी आगामी मङ्सिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने छुट्टै तालिका सार्वजनिक गरेको छ। देउवाका स्वकीय सचिव भानु देउवाले अदालतको अन्तिम फैसला नआएसम्म सहमतिको सम्भावना नरहेको र दुई वटा महाधिवेशन हुने निश्चित भएको बताएका छन्। गत साउन २१ गते सर्वोच्च अदालतले थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिने अघिल्लो फैसलामाथि पुनरावलोकनको अनुमति (निस्सा) दिएपछि देउवा पक्ष अदालतको फैसलाको प्रतीक्षामा छ।
यसैबिच, दुवै पक्षबिच मध्यस्थकर्ताको भूमिकामा रहेका डा. शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का कुन कित्तामा उभिन्छन् भन्ने चासो बढेको छ। सभापति गगन थापाले दुवै नेतालाई आफूसँग उभ्याउने प्रयास गरिरहे पनि शेखर कोइराला देउवाबिनाको एकताको अर्थ नरहने निष्कर्षमा पुगेका छन्। पूर्वमहामन्त्री शशांक कोइराला देउवा पक्षको महाधिवेशन तयारी समितिको संयोजक रहेकाले शेखर पनि देउवा पक्षमै उभिने सम्भावना प्रबल देखिएको छ।
यस्तै, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने दुवै पक्षको अलग-अलग महाधिवेशन भए कतै पनि सहभागी नहुने र चोइटिएको पार्टीमा नरहने मनस्थितिमा रहेको उनीनिकट नेताहरूले बताएका छन्।