काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षको भाद्र २३ र २४ गते भएका हिंसात्मक घटनामा संलग्न दुवै पक्षका दोषीहरूलाई बिनासम्झौता कारबाही हुनुपर्ने स्पष्ट पारेका छन्। बुधबार बीपी जयन्तीका अवसरमा विशेष भिडिओ सन्देश जारी गर्दै सभापति थापाले २३ गते युवाहरूमाथि गोली चलाउने र २४ गते राज्यका महत्वपूर्ण निकाय तथा निजी सम्पत्तिमा आगजनी गर्ने सबैलाई कानुनी दायरामा ल्याएर मात्रै राज्य जवाफदेही बन्न सक्ने बताएका हुन्।
भाद्र २३ गते जेनजी आन्दोलनका क्रममा राज्य पक्षबाट गोली चल्दा युवाहरूको ज्यान गएको थियो भने भोलिपल्ट २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरका सरकारी तथा निजी संरचनामा व्यापक आगजनी र तोडफोड भएको थियो। सोही घटना स्मरण गर्दै थापाले भने, *”हामी हाम्रो ठाउँबाट प्रष्ट छौँ। भाद्र २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ, २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ। अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ।”*
आफ्नो व्यक्तिगत पीडा स्मरण गर्दै सभापति थापाले २४ गतेको तोडफोडका क्रममा आफ्नो घरसमेत जलेको र परिवारका सदस्यहरू जोखिममा परेको उल्लेख गरे। धेरै नागरिकका घर र सार्वजनिक सम्पत्ति क्षणभरमै नष्ट भएको सो दिनले देशलाई कहिल्यै नमेटिने गहिरो घाउ दिएको भन्दै उनले दोषीमाथि कडा कारबाहीको माग दोहोर्याएका छन्।