काठमाडौं, २४ भदौ — नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्षको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट र विध्वंसको निष्पक्ष तथा तथ्यमा आधारित छानबिन गर्न जोडदार माग गरेका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा प्रेस वक्तव्य जारी गर्दै उनले आन्दोलनका बेला ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, घाइते तथा प्रभावितहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
वक्तव्यमा सुरुमा युवाहरूको अभिव्यक्ति स्वतन्त्रता र सुशासनप्रतिको शान्तिपूर्ण आन्दोलनलाई राज्यले दमन गरेको र त्यसपछि संदिग्ध तत्वहरूले आन्दोलनलाई ‘अपहरण’ गरी हिंसात्मक बनाएको आरोप लगाइएको छ। भदौ २४ गते सिंहदरबार, संसद् भवनलगायतका सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडमा बाह्य तत्वको संलग्नता रहेको र वास्तविक अभियन्ताहरूले घर फर्कन आग्रह गरेको तथ्यलाई नजरअंदाज गर्न नहुने प्रचण्डले उल्लेख गरेका छन्।”युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइन, दुवैलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन।”
संयोजक प्रचण्डले आन्दोलनमा दमन किन र कसरी भयो, हिंसा कसले मच्चायो र यसबाट लाभ कसले उठायो भन्ने विषयमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्। साथै, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई दराजमा थन्क्याउन नहुने र दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिएका छन्।
वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले महँगी, शिथिल अर्थतन्त्र, युवाहरूको विदेश पलायन र सरकारले संविधान संशोधनका नाममा प्राप्त उपलब्धिहरू कमजोर पार्न खोजेको आरोप लगाएका छन्। लोकतन्त्रका कमजोरीको उपचार लोकतन्त्र समाप्त गर्नु नभई त्यसलाई अझ उत्तरदायी र जनमुखी बनाउनु अर्थात् ‘लोकतन्त्रको सर्भिसिङ’ गर्नु हो भन्ने धारणा उनको छ।
अन्त्यमा, संविधान र लोकतन्त्रको रक्षा तथा प्रतिगामी एवं जनविरोधी प्रवृत्तिविरुद्ध शान्ति, संविधान र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता र आम नागरिकलाई एकताबद्ध हुन उनले अपिल गरेका छन्।