नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छः सभापति लामिछाने

नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छः सभापति लामिछाने

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

काठमाडौँ, २३ भदौः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनुभएको छ ।

सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति जारीे गरेर ‘जेनजी’ आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनुभएको छ । “हिजो सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ”, सभापति लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

सभापति लामिछानेले जेनजी आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको पनि स्पष्ट पार्नुभयो । “यो कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन थिएन, यो पूर्णतः स्वस्फूर्त जागरण थियो”, उहाँले भन्नुभयो, “त्यसैले, कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन ।”

सभापति लामिछानेले ठिक एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण गराउनुभएको छ । “वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध नेपालका सचेत युवा पुस्ता (जेनजी) शान्तिपूर्ण तर दृढ सङ्कल्पका साथ सडकमा उत्रिएको थियो”, उहाँले भन्नुभयो, “एक थोपा पनि रगत नबगाइ पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो । भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् ।”

सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले आन्दोलनका क्रममा अङ्गभङ्ग हुनुभएका, घाइते हुनुभएका तथा मानसिक एवं शारीरिक चोट भोग्नुभएका सम्पूर्णप्रति सम्मान व्यक्त गर्दै, राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनःस्थापनाको दायित्व पूरा गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सभापति लामिछानेले सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायको रचनात्मक खबरदारी र कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलाउन पनि अनुरोध गर्नुभएको छ ।

सभापति लामिछानेले आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिने गरी नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । “जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी