काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको ‘जेनजी’ (Gen Z) आन्दोलनलाई वर्षौँदेखिको भ्रष्टाचार, दलीय भागबन्डा र संस्थागत असक्षमताविरुद्धको नयाँ जागरण विस्फोटका रूपमा चित्रण गरेका छन्। ‘जेनजी शहीद दिवस’ (भाद्र २३) को अवसरमा सोमबार एक वक्तव्य जारी गर्दै उनले आन्दोलनमा जीवन गुमाउने अमर शहीदहरू तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेको स्मरण गराउँदै लामिछानेले परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताको रगत बग्नु सबैभन्दा पीडादायी क्षण भएको बताए। भाद्र २३ र २४ गते भएको विनाशकारी घटना अब कहिल्यै नदोहोरियोस् भन्दै उनले परिवर्तनका लागि कुनै पनि आमाको काख रित्तिन नहुने धारणा व्यक्त गरे। राजनीतिमा चासो राख्दैन भनिएको युवा पुस्ताले सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकृत गरेको र त्यही जागरणले रास्वपालाई आज प्रश्नको जवाफ दिने ठाउँमा उभ्याएको उनले उल्लेख गरे।
आफ्नो कार्यसम्पादनको निर्मम समीक्षा र रचनात्मक खबरदारी निरन्तर जारी राख्न आग्रह गर्दै सभापति लामिछानेले भने, *”हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ। त्यसैले आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिऔँ, नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गरौँ।”* उनले जेनजी आन्दोलनले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट रास्वपा एक इन्च पनि विचलित नहुने दृढ सङ्कल्प व्यक्त गरेका छन्।