गगनसँगको संवादबारे इतर समूहलाई शेखरको ब्रिफिङ, देउवाको ‘ग्रेसफुल एक्जिट’ नयाँ बटमलाइन

गगनसँगको संवादबारे इतर समूहलाई शेखरको ब्रिफिङ, देउवाको ‘ग्रेसफुल एक्जिट’ नयाँ बटमलाइन

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 494
    SHARES

काठमाडौँ ।

नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद समाधानका लागि डा. शेखर कोइरालाले मध्यस्थकर्ताको भूमिका तीव्र बनाएका छन्। विवाद निरूपणका लागि आइतबार सभापति गगन थापासँग छलफल गरेका शेखरले सोमबार अपराह्न निवर्तमान सभापति शेरबहादुर देउवासँग चुनदेवी पुगेर भेटवार्ता गरेका छन्।

संस्थापन इतर पक्षका पूर्ववर्ती अधिकांश माग सम्बोधन गर्ने गरी सभापति थापाले अघि सारेको प्रस्तावबारे शेखरले देउवालाई ब्रिफिङ गरेका हुन्। सभापति थापाले १५ औँ महाधिवेशन सञ्चालनका लागि छुट्टै राजनीतिक ‘संयन्त्र’ बनाएर त्यसको नेतृत्व लिन शेखरलाई प्रस्ताव गरेका थिए। प्रस्ताव अनुसार १५ सदस्यीय संयन्त्रमा थापा पक्षबाट नेतृत्वबाहेक ८ जना र इतर पक्षबाट ६ जना सदस्य रहने खाका कोरिएको छ।

तर, देउवा पक्षलाई बाहिरै राखेर गरिने सहमतिप्रति शेखर सकारात्मक देखिएका छैनन्। सभापति थापासँगको भेटमा उनले देउवाबिनाको एकताको कुनै अर्थ नहुने भन्दै पार्टी एकताका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको स्पष्ट पारेका थिए। “शेरबहादुर देउवाबिनाको एकताको अर्थ हुँदैन, उहाँको ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) कसरी सम्भव हुन्छ, त्यसमै सहमति खोजौँ,” शेखरको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।

थापासँगको संवादपछि शेखरले आइतबार नै शशांक निवास महाराजगन्जमा देउवा पक्षका नेताहरूलाई छलफलको प्रगतिबारे जानकारी गराएका थिए। संस्थापन पक्ष लचिलो बनेपछि अहिले इतर पक्षले देउवाको सम्मानजनक बहिर्गमनलाई नै सहमतिको मुख्य ‘बटमलाइन’ बनाएको छ।

शेखर निकट निवर्तमान केन्द्रीय सदस्य सञ्जय गौतमका अनुसार १५ औँ महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व र समापन सत्रको सम्बोधन देउवाबाट गराएर सम्मानजनक बिदाइ गर्ने मोडालिटीमा छलफल भइरहेको छ। यस्तै, नेता डा. प्रकाशशरण महतले पनि देउवाकै नेतृत्वमा महाधिवेशनमा जाने सहमति बने अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन र पार्टी एकता जोगाउन सकिने बताएका छन्।

उता, महामन्त्री प्रदीप पौडेलले भने विशेष महाधिवेशनको औचित्य समाप्त नहुने गरी इतर पक्षका मागहरू स्वीकार गर्न सभापति थापा तयार रहेको जानकारी दिए। पार्टी एकताका लागि महाधिवेशनको कार्यतालिका संशोधन गर्न, नियमावली अनुसार क्रियाशील सदस्यता नवीकरण र अद्यावधिकसम्बन्धी समस्या सुल्झाउन संस्थापन पक्ष सकारात्मक बनेको छ। निर्वाचन समितिले आगामी असोज ४ गतेबाट वडा अधिवेशन सुरु गर्ने गरी कार्यतालिका परिमार्जन गर्ने तयारी गरेको छ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले अदालतबाट मुद्दा फिर्ता लिएको खण्डमा महाधिवेशनको मिति आगामी मङ्सीरसम्म सार्न र एकताका लागि आवश्यक लचकता अपनाउन आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी