काठमाडौँ। भदौ १० गतेको विनाशकारी बाढीपछि नेपालमा जारी उद्धार, खोज तथा राहत कार्यमा सघाउन सिंगापुर प्रहरीको ३५ सदस्यीय विशेषज्ञ टोली परिचालन भएको छ। भदौ १७ गते काठमाडौँ आइपुगेको उक्त टोलीले हवाई निगरानी (ड्रोन सञ्चालन) का साथै बाढीमा परी मृत्यु भएकाहरूको वैज्ञानिक पहिचान अर्थात् ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ (DVI) मा नेपाल प्रहरी र फोरेन्सिक विशेषज्ञहरूसँग मिलेर काम गरिरहेको छ।
बाढीमा परी कम्तीमा ९ जना सिंगापुरका नागरिकसहित ४ हजारभन्दा बढी मानिस अझै बेपत्ता छन्। सिंगापुर प्रहरी टोलीका कमान्डर असिस्टेन्ट कमिस्नर अफ पुलिस प्याट्रिक टान र डीभीआई टोली प्रमुख असिस्टेन्ट कमिस्नर अफ पुलिस यूजिन वाङका अनुसार टोलीको मुख्य उद्देश्य कुनै खास देशका नागरिक मात्र नभई सबै पीडितहरूको पहिचान गरी उनीहरूका परिवारलाई राहत र जानकारी दिनु हो। यसका लागि नेपाली प्रहरीलाई ड्रोन सञ्चालन सम्बन्धी तालिमसमेत दिइँदै छ।

सिंगापुर टोलीमा ‘होम टिम साइन्स एन्ड टेक्नोलोजी एजेन्सी’ का फिंगरप्रिन्ट विशेषज्ञ, फोटोग्राफर तथा ‘हेल्थ साइन्सेस अथोरिटी’ का फोरेन्सिक प्याथोलोजिस्ट र प्राविधिकहरू सामेल छन्। उनीहरूले काठमाडौँका विभिन्न अस्पतालहरूमा राखिएका कुहिएका वा क्षति पुगेका शवहरूबाट औँठाछाप, डिएनए नमुना तथा अन्य फोरेन्सिक विवरण सङ्कलन गरिरहेका छन्। उता सिंगापुरमा रहेको प्रहरी टोलीले बेपत्ताका परिवारबाट मेडिकल रेकर्ड, एक्स-रे र डिएनए नमुना सङ्कलन गरी नेपाललाई हस्तान्तरण गर्नेछ, जसलाई इन्टरपोलको डीभीआई प्रोटोकलअनुसार नेपालमै भिडाएर पहिचान पुष्टि गरिनेछ।
विपद्को १० दिन भइसक्दा शवहरू कुहिएका र गम्भीर क्षति पुगेकाले औँठाछाप सङ्कलनमा चुनौती भए पनि टोलीले महत्त्वपूर्ण विवरणहरू सङ्कलन गरिरहेको छ। सिंगापुर प्रहरीसँग सन् २००४ को फुकेट सुनामीलगायतका विपद्मा काम गरेको अनुभव छ।
यसअघि नै भदौ ११ गते सिंगापुरको परराष्ट्र मन्त्रालयको संकट प्रतिकार्य टोली नेपाल आइपुगिसकेको छ भने सिंगापुर सरकारले ५ लाख ६० हजार अमेरिकी डलर बराबरको अत्यावश्यक औषधि तथा आपत्कालीन राहत सामग्री उपलब्ध गराउने घोषणा गरिसकेको छ। हाल नेपालमा सिंगापुरका अतिरिक्त भारत, चीन, जापान, दक्षिण कोरिया र अस्ट्रेलियाका फोरेन्सिक, सुरुङ उद्धार र द्रुत उद्धार टोलीहरू समेत खटिएका छन्।