काठमाडौँ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित भयावह स्थिति, जारी खोजी तथा उद्धार अभियान र प्रभावित नागरिकहरूको पुनर्स्थापनाका विषयमा प्रधानमन्त्रीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै बाढीपीडितमाथि नकारात्मक टिप्पणी गर्ने र हियाउनेहरूप्रति सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिनुभएको छ।
शनिबार सामाजिक सञ्जालमार्फत जारी विस्तृत र भावुक सन्देशमा प्रधानमन्त्रीले बाढीका कारण आफन्त, घरबार र सर्वस्व गुमाएका नागरिकहरूको आक्रोशलाई स्वाभाविक मान्दै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताउनुभएको छ।
‘आक्रोश आक्रोश होइन, असीम पीडाको अभिव्यक्ति हो’
विपद्को यस अभूतपूर्व घडीमा जनस्तरबाट प्रकट भइरहेको असन्तुष्टिलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, “आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोश स्वाभाविक हो। एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो। हामीले उहाँहरूको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्छ।”
उहाँले थप्नुभयो, “यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार निर्मम हुनेछ।”
उद्धारमा सफलता: बेत्रावतीबाट ६४ वर्षीया वृद्धाको जीवितै उद्धार
भोटेकोसी बाढीका कारण प्रभावित क्षेत्रहरूमा भइरहेको खोज तथा उद्धार कार्यको प्रगति विवरण प्रस्तुत गर्दै प्रधानमन्त्रीले नुवाकोटको विदुर-१०, बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले जीवितै उद्धार गरेको जानकारी दिनुभएको छ।
यस सफलताले खोज तथा उद्धारमा खटिएका टोलीहरूलाई अझ हौसला मिलेको र सिङ्गो देशमा आशाको सञ्चार गराएको उल्लेख गरिएको छ। उहाँका अनुसार सुरक्षाकर्मीहरूले ज्यानको परवाह नगरी काँपिरहेका हातहरूले आफ्ना नातिनातिना च्यापेर ज्यान जोगाएका धेरै ज्येष्ठ नागरिकहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइसकेका छन्।
ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता र पुनर्स्थापना
बाढीले विदुरस्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’ र ‘विदुर भवन’ क्षतिग्रस्त बनाएपछि त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी गराइएको छ।
काठमाडौँ र नुवाकोटमा आश्रय: बाढी प्रभावित आश्रितमध्ये ७ जना आमाबुबाहरूलाई काठमाडौँको म्हैपीस्थित ‘नेपाल सिनियर केयर’ मा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित ‘कृष्णप्रणामी मन्दिर’ मा अल्पकालीन आश्रय प्रदान गरिएको छ।
स्वास्थ्य र मनोसामाजिक सेवा: विस्थापित ज्येष्ठ नागरिकहरूलाई हिँडडुल गर्न सजिलो होस् भन्नका लागि ह्वीलचियर तथा वाकर उपलब्ध गराउनुका साथै शारीरिक कष्ट र मानसिक आघात (Trauma) कम गर्न विशेष टोलीमार्फत निरन्तर स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श (Psychosocial Counselling) सेवा सञ्चालन गरिएको छ।
प्रधानमन्त्रीले बाढी प्रभावितहरूलाई temporary शिविरको बसाइ सकेसम्म छोटो बनाएर हरसम्भव छिटो स्थायी र सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। “हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई राज्यले हृदयदेखि महसुस गरेको छ। हजुरहरूले आफूलाई एक्लो नठान्नुहोला, यो राज्य र सरकार हजुरहरूकै साथमा छ,” प्रधानमन्त्रीले भन्नुभयो।
सुरक्षा निकायको योगदान र सामूहिक श्रद्धाञ्जली
बाढीमा परी ज्यान गुमाउनेहरूप्रति सामूहिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले उहाँहरूलाई सिङ्गो घरको मूल खम्बा, संस्कार र ज्ञानको स्रोतका रूपमा स्मरण गर्नुभएको छ।
साथै, विषम् परिस्थिति र भौगोलिक जोखिमका बाबजुद खटिएका सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गरिएको छ। “हाम्रा सुरक्षाकर्मीहरू कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रहरूमा निरन्तर खटिरहेका छन्। आफ्नो ज्यान जोखिममा राखेर खटिएका सुरक्षाकर्मीहरूप्रति हामीले हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नुपर्छ र उहाँहरूको आत्मबल बढाउनु हाम्रो साझा कर्तव्य हो,” सन्देशमा उल्लेख छ।