काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते (२४ सेप्टेम्बर) मा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपाल सरकारको विशेष अनुरोधपछि राष्ट्रसंघ मुख्यालयले वक्ताहरूको सूची संशोधन गर्दै असोज ८ गते दिउँसोको सत्रमा नेपालका सरकार प्रमुखको सम्बोधनका लागि समय निर्धारण गरेको हो। न्युयोर्कस्थित नेपाली नियोगबाट प्राप्त संशोधित कार्यतालिका अनुसार प्रधानमन्त्री शाहको अमेरिका भ्रमणको तयारी अगाडि बढाइएको छ। प्रधानमन्त्री बनेको पाँच महिनामा शाहको यो नै पहिलो विदेश भ्रमण हुनेछ।
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीअघिसम्म महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने तय भएको थियो। तर, देशमा आएको महाविपत्तिपछि जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षति, क्षतिपूर्ति र वातावरणीय न्यायको मुद्दालाई विश्वमञ्चमा सशक्त रूपमा उठाउन प्रधानमन्त्री शाह आफैँ जाने निर्णयमा पुगेका हुन्। प्रधानमन्त्री शाह महासभामा जाने भएपछि परराष्ट्रमन्त्री खनाल प्रतिनिधिमण्डलको सदस्यका रूपमा सहभागी हुनेछन्।
देश हाल विपद्पछिको उद्धार, राहत र पुनरुत्थानको चरणमा रहेकाले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण सम्भव भएसम्म छोटो बनाउने तयारी छ। प्रधानमन्त्री शाह महासभामा सम्बोधन गरेर लगत्तै स्वदेश फर्किने योजनामा रहेकाले अधिकांश द्विपक्षीय साइडलाइन भेटवार्ताहरूको नेतृत्व परराष्ट्रमन्त्री खनालले नै गर्नेछन्। महासभाको समयमा चिनियाँ राष्ट्रपति सी चिनफिङ वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तामा रहने र भारतबाट विदेशमन्त्री एस जयशंकर सहभागी हुने भएकाले न्युयोर्कमा छिमेकी देशका सरकार प्रमुखहरूसँग प्रधानमन्त्रीको भेट हुने सम्भावना भने न्यून देखिएको छ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यका साथै परराष्ट्र सचिव अमृतबहादुर राई, महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल र राष्ट्रसंघका लागि नियोग प्रमुख लोकबहादुर थापा रहनेछन्।