रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय २५ पुगेको छ। प्रहरीका अनुसार उद्धार कार्य जारी रहँदा मृतकको संख्या बढ्दै गएको हो।
नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये ५ सय २२ पुरुष, ३ सय २१ महिला र ४ सय ८२ वटा आंशिक अङ्ग रहेका छन्।
बाढीका कारण ज्यान गुमाएकामध्ये पहिचान हुन नसकेका १ हजार ३० वटा शवलाई अस्थायी रूपमा जमिनमुनि गाडिएको छ। हालसम्म स्वदेशी तथा विदेशी गरी ८ हजार ८ सय ९८ जना नागरिक सम्पर्कविहीन (बेपत्ता) रहेको र उनीहरूको खोजी कार्य तीव्रताका साथ भइरहेको प्रहरीले जनाएको छ।
मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया पनि अगाडि बढाइएको छ। हालसम्म १ हजार २ सय ६० जना मृतकको डीएनए नमुना संकलन गरिसकिएको छ भने आफन्त गुमाएका ८ सय ४६ जना परिवारजनको पनि डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन्।