‘हजुर म यहाँ छु’ : २१६ घण्टा सुरुङमा थुनिएका सञ्जयले जब उद्धारकर्मीको आवाज सुने

‘हजुर म यहाँ छु’ : २१६ घण्टा सुरुङमा थुनिएका सञ्जयले जब उद्धारकर्मीको आवाज सुने

  • शनिबार, भदौ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 437
    SHARES

काठमाडौँ, भदौ १९ — “हजुर म यहाँ छु!” — भदौ १० गते भोटेकोसीमा आएको प्रलयकारी बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको अँध्यारो सुरुङभित्र फसेका ३० वर्षीय सञ्जय साहले २ सय १६ घण्टा (९ दिन) पछि आफ्ना उद्धारकर्ताहरूलाई फर्काएको जवाफ हो यो। सबैले माया मारिसकेको अवस्थामा शुक्रबार श्रीकृष्ण जन्माष्टमीकै दिन साहको सकुशल उद्धार भएपछि परिवार र आफन्तजनले यसलाई ‘भगवान्को चमत्कार र पुनर्जन्म’का रूपमा लिएका छन्।

सप्तरी तिलाठी कोइलाडीका स्थायी बासिन्दा साह त्रिशूली ३ ‘ए’ मा मेकानिकल फोरम्यानका रूपमा कार्यरत थिए। बाढी आएको दिन बिहान अपरेसन सिफ्ट ड्युटीमा रहेका उनले पावर हाउसमा काम गरिरहेका अन्य साथीहरूलाई तत्काल भाग्न भन्दै सतर्क गराएका थिए। अरूको ज्यान बचाउने क्रममा ढिला हुँदा १० मिनेटभित्रै सुरुङमा हिलो र पानी भरियो र उनी भित्रै थुनिन पुगे।

सुरुङको अन्धकारभित्र खाना र पानीविना २ सय १५ घण्टासम्म मृत्युसँग सङ्घर्ष गर्दा उनले निरन्तर महामन्त्र ‘हरे कृष्ण हरे राम’ जपिरहे। भगवान्का भक्त साहले नवौँ दिनमा उद्धार टोलीको आवाज सुनेपछि जवाफ फर्काएका थिए। हिलो छिचोल्दै बाहिर निकालिएका उनलाई उद्धार टोलीले तत्काल आराम गराई काठमाडौँस्थित छाउनीमा रहेको सैनिक अस्पतालमा ल्याएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

छोरा बेपत्ता भएपछि ९ दिनसम्म आँसुमा डुबेका बुबा रामफल साह र आमा कपुरदेवीका लागि शुक्रबार बिहान आएको उद्धारको खबर सपनाजस्तै बन्यो। खबर पाउनेबित्तिकै विराटनगरबाट उडान भरेर काठमाडौँ आइपुगेका बुबा रामफलले भने, “भगवानले आशीर्वाद दिनुभयो, मेरो छोरा बाँचेर आयो। २ वर्षकी नातिनी र बुहारीको खुसी फर्किएको छ।”

सुरुङबाट निस्किएपछि पहिलो कुरामा साहले आफूले अरूलाई बचाउन खोज्दा आफैँ थुनिन पुगेको बताए। हाल सैनिक अस्पतालमा उपचाररत साहलाई भेट्न र शुभकामना दिन आफन्त तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी