काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफूलाई कतिपयले राज्य सञ्चालक पुराना नेताहरूकै जस्तो परम्परागत शैली अपनाउन दबाब दिइरहेको बताएका छन्। त्रिशूली-३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जना कर्मचारीको जीवितै उद्धार गर्ने क्रममा शुक्रबार स्वयं घटनास्थल पुगेका गृहमन्त्री गुरुङको भूमिकालाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उद्धार गरिएका व्यक्तिहरूलाई हेलिकप्टरसम्म पुर्याउन गृहमन्त्री आफैँ फिल्डमा खटिएको भिडियो सार्वजनिक भएपछि कतिपयले ‘स्टन्ट’ गरेको भन्दै आलोचना गरेका थिए। त्यसको जवाफ दिँदै गृहमन्त्री गुरुङले आफूलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात मात्र समात्ने पुरानो शैलीको नेतृत्वका रूपमा नबुझ्न आग्रह गरेका छन्।
“यदि पुरानो शैलीको नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ— जेनेरेसन ग्याप,” उनले सामाजिक सञ्जालमा लेखेका छन्। उनले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा ‘विपद् प्रतिकार्य कमान्ड सेन्टर’ पूर्ण रूपमा सञ्चालनमा रहेको र आफूले हरेक ४ घण्टामा अनलाइन माध्यमबाट कमान्ड सञ्चालन तथा रणनीतिक बैठकहरू गरिरहेको स्पष्ट पारेका छन्।
वर्षौँदेखि फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको दुष्परिणाम देशले भोगेको उल्लेख गर्दै उनले थपेका छन्, “उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा अचम्म लाग्छ। टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी भइरहेको छ, त्यसैले म कहाँ छु भन्दा पनि परिणाममा ध्यान दिन अनुरोध गर्दछु।”