काठमाडौँ। सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका व्यवसायी रोहित गुप्तालाई दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार उक्त आदेश जारी गरेको हो।
यसअघि साउन २८ गते विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही मुद्दामा जोडिएका हिमालयन रिइन्सुरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छा र सञ्चालक समिति सदस्य शुभेच्छा खरेल धरौटी बुझाएर छुटिसकेकाले गुप्तालाई मात्र थुनामा राख्नु न्यायोचित नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख छ। अदालतले गुप्ताको संलग्नताको तह र हद हेर्दा थुनामै राखेर कारबाही अघि बढाउनु नपर्ने जनाएको छ।
गुप्तामाथि ब्रोकर नम्बर ५५ मा आफ्नो एटिएमएस (TMS) खाता नरहेको अवस्थामा पनि गैरकानुनी उद्देश्यका लागि ५२ करोड ५० लाख रुपैयाँ सेयर बजारमा लगानी गर्न उपलब्ध गराएको आरोप छ। साथै, हिमालयन रिइन्सुरेन्स कम्पनीबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ उक्त ब्रोकर कम्पनीमा पठाएर दीपक भट्ट लगायतका नाममा सेयर खरिद गराउने कार्यमा संलग्न रहेको आरोप उनीमाथि लगाइएको छ।