पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छः मन्त्री पौडेल

पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छः मन्त्री पौडेल

  • बुधबार, भदौ १७, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

काठमाडौँ, १७ भदौः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन क्षेत्रमा रु ५० अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारेको छलफलमा उहाँले पर्यटन व्यवसाय र पूर्वाधारको क्षति र भविष्यमा पार्न सक्ने आर्थिक असर समेतका आधारमा उक्त अनुमान गरिएको बताउनुभयो ।

मन्त्री पौडेलका अनुसार बाढीपहिरोबाट १४२ वटा होटल, ५७ वटा रेस्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधन क्षति भएको छ । त्यस क्षेत्रका विभिन्न महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामा पनि क्षति पुगेको छ ।

लाङटाङ, गोसाइँकुण्ड, पार्वतीकुण्ड र नाथली पदमार्गमा क्षति पुगेकाले वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था सिर्जना रहेको उहाँले बताउनुभयो ।

प्रभावित क्षेत्रलाई मन्त्रालयमार्फत ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिँदै मन्त्री पौडेलले त्यस क्षेत्रमा सङ्ग्रहालय, स्मारक, पार्क वा अन्य संरचना निर्माण गर्ने विषयमा सरोकारवालासँगको छलफलका आधारमा निर्णय गरिने बताउनुभयो ।

जलवायु परिवर्तनका कारण नेपालले ठूलो विपत्ति भोग्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले नगरेको गल्तीको असर नेपालीले भोग्नुपरेको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई अन्तरराष्ट्रिय समुदायले आवश्यक सहयोग र प्रविधि उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले हिमाली क्षेत्रमा रहेका हिमताल र हिमनदीको जोखिमलाई ध्यानमा राख्दै विपद् आउनुअघि सूचना दिन सक्ने आधुनिक प्रविधिको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले विश्वका विभिन्न मुलुकमा प्रयोग भइरहेका यस्ता प्रविधि नेपालमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग पहल गरिनेछ भन्नुभयो ।

बाढीपहिरोका क्रममा उद्धार तथा राहतमा नेपाली हवाई कम्पनी र हेलिकप्टर व्यवसायीले महत्वपूर्ण योगदान बताउँदै उहाँले त्यसलाई राष्ट्रप्रतिको महत्वपूर्ण योगदानका रूपमा हेरिनेछ भन्नुभयो ।

मन्त्री पौडेलले पोखरा, चितवन र काठमाडौँलगायतका स्थानका होटल व्यवसायीले प्रभावितलाई निःशुल्क बस्न र खान दिने व्यवस्था गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले रसुवा बाढीमा के–कति विदेशी पर्यटक बेपत्ता भएको भन्ने विषय अन्तिम तथ्याङ्क आएपछि यकिन हुने बताउनुभयो ।

सरकारले प्रभावित पर्यटक तथा उनीहरूका परिवारलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आवश्यक अन्य स्थानमा ‘डेस्क’ स्थापनाको प्रक्रिया अघि बढेको बताउँदै मन्त्री पौडेलले विभिन्न मन्त्रालय र दूतावाससँग यस विषयमा समन्वय भइरहेको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले विपद्का कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जान नदिन अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी सञ्चार आवश्यक रहेको बताउनुभयो । उहाँले अन्तरराष्ट्रियस्तरमा पहुँच भएका जोसुकै व्यक्तिलाई पनि नेपाल सुरक्षित रहेको र नेपालको पर्यटन उद्योग पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश विश्वभर पु¥याउन सुझाव दिनुभयो ।

“प्राकृतिक विपत्ति संसारका जुनसुकै ठाउँमा हुन सक्छ । यसले नेपालको पर्यटन उद्योगलाई भत्काउन सक्दैन । हामी अझै उभिएका छौँ र पर्यटकलाई स्वागत गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको पीडाबारे विश्व समुदायलाई जानकारी गराउनुपर्ने र अर्कोतर्फ नेपाल पर्यटनका लागि सुरक्षित र खुला रहेको सन्देश दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पर्यटन क्षेत्रमा कार्यरत श्रमिकसँग सम्बन्धित कल्याणकारी कोषलाई परिचालन गर्ने निर्णयसमेत गरिएको बताउँदै उहाँले बाढीमा परी बेपत्ता भएका व्यक्तिको यकिन नहुँदा बीमा दाबीमा आउन सक्ने जटिलताबारे अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय विपत्तिका बेला राजनीतिकभन्दा माथि उठेर नेपाली समाज एकताबद्ध हुने गरेको उल्लेख गर्दै उहाँले यसपटक पनि उद्धार र राहतका काममा त्यही सामाजिक एकता देखिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी