काठमाडौँ — भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत्गृहमा फसेका व्यक्तिहरूको उद्धारमा साता बितिसक्दा पनि कुनै ठोस प्रगति हुन सकेको छैन। सुरुङभित्र थुप्रिएको लेदो, ढुंगामाटो, बढ्दो नदीको सतह र घटनास्थलसम्म भारी उपकरण लैजाने पहुँचमार्ग नहुँदा उद्धार प्रयास जटिल बनेको छ।
नेपाली सेनासँगै भारत, चीन र दक्षिण कोरियाबाट आएका विज्ञ उद्धार टोली घटनास्थलमा खटिए पनि विनाशको भयावह स्थिति देखेर टोली नै आत्तिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। पहुँचमार्ग ध्वस्त भएकाले पहिले बाटो बनाउनुपर्ने बाध्यता उद्धारकर्ताहरूसामु छ।
आयोजनाअनुसार उद्धारको पछिल्लो स्थिति:
माथिल्लो त्रिशूली–३ ‘ए’ (६० मेवा): सुरुङमा फसेकाहरूको उद्धारका लागि चार वटा स्काभेटर प्रयोग गरी ड्रिलिङ, खन्ने र ‘गली कटिङ’मार्फत पानी बाहिर निकाल्ने काम भइरहेको छ। थप प्रभावकारिताका लागि आयोजना निर्माणमा संलग्न अनुभवी विज्ञहरू बोलाउने तयारी छ।
चिलिमे जलविद्युत् (२२ मेवा): उपकरण लैजाने बाटो नहुँदा सुरुङसम्म उद्धार टोली पुग्न सकेको छैन। मेसिनरी बिना प्रवेश सम्भव नभएपछि उद्धारका लागि गएको शेर्पाहरूको टोली फर्कन बाध्य भएको छ।
रसुवागढी (१११ मेवा): ९१ जना अझै बेपत्ता छन्। नेपाली सेनाले विद्युत्गृहको सुरुङभित्र कोही नरहेको निष्कर्ष निकालेपछि आफन्तहरू आक्रोशित बनेका छन्। कम्पनीले बुधबारसम्म स्काभेटर पुर्याएर खोजी तीव्र पार्ने जनाएको छ।
लाङटाङ खोला (२० मेवा): ४१ जना अझै सम्पर्कविहीन छन् भने १९ जनाको उद्धार भइसकेको छ। पेनस्टकको पहुँच सुरुङमा ७ जना फसेको अनुमान छ। बुधबारदेखि १३ जना विज्ञको टोली परिचालन गरिँदै छ।
त्रिशूली–३ ‘बी’ (३७ मेवा): १४१ जना अझै सम्पर्कविहीन छन्। हराइरहेकाहरूमा २१ कर्मचारी, परिवारका ७ सदस्य, १२ परामर्शदाता, ४ चिनियाँ नागरिक र काठमाडौँ विश्वविद्यालयका ३ विद्यार्थी छन्। ५ जनाको शव फेला परेको छ भने २३ जना आफैँ बाहिर निस्कन सफल भएका थिए।
माथिल्लो त्रिशूली–१: कार्यरतः १,४३३ मध्ये ८७६ जना सम्पर्कमा आएका छन् भने बाँकी आयोजना तथा ठेकेदार कम्पनीका श्रमिक-कर्मचारी हराइरहेका छन्। अडिट १ र २ मा लेदो थुप्रिएकाले अन्तर्राष्ट्रिय विज्ञको सहयोग आवश्यक देखिएको छ। बुधबार चार टोलीले ड्रोनमार्फत पनि खोजी सुरु गरेका छन्।
बाढी आएको एक साता बित्न लाग्दा पनि उद्धार टोली मानिस फसेको मुख्य ठाउँसम्म पुग्न नसक्नु नै प्रमुख चुनौती बनेको छ। कतिपय आयोजनामा सुरुङभित्र प्रवेश गर्नुअघि बाटो खुलाउनै अझै केही दिन लाग्ने देखिएको छ।