सुदन किराँती नेतृत्वको समूहसँग पार्टी एकता भएको चार महिनापछि श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक आज मङ्गलबार धरानस्थित होटल गोर्खामा सुरु हुँदै छ। तर, उक्त महत्त्वपूर्ण बैठकमा एकीकृत पक्षका वरिष्ठ नेता सुदन किराँतीसहितको टोलीलाई भने खबर नै नगरिएको खुलेको छ।
किराँती पक्षका एक नेताका अनुसार बैठकबारे उनीहरूलाई कुनै औपचारिक निमन्त्रणा गरिएको छैन। चार महिनाअघि भएको पार्टी एकताका क्रममा सुदन किराँतीलाई वरिष्ठ नेता बनाउँदै उनको समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्यसहित १८ जनालाई श्रम संस्कृतिको केन्द्रीय समितिमा समावेश गरिएको थियो। हाल दुवै पक्ष गरी पार्टीको केन्द्रीय समिति ४१ सदस्यीय रहेको छ।
पार्टी एकतालगत्तै अध्यक्ष हर्क साम्पाङको आधिकारिक फेसबुक पेज र विभिन्न मिडियामार्फत सुदन किराँतीलाई पार्टीका तर्फबाट आगामी मुख्यमन्त्रीका रूपमा घोषणा गरिएको थियो। सोही अनुसार पूर्वी नेपालमा ‘हातेमालो’ अभियान लिएर किराँती गाउँ-गाउँ पुगेपछि थुप्रै बहालवाला जनप्रतिनिधिहरू पुरानो दल छाडेर श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने जनलहर चलेको थियो। तर, एकाएक सुदन किराँती पक्षलाई छाडेर अध्यक्ष साम्पाङले एकलौटी ढङ्गले केन्द्रीय समिति बैठक बोलाएपछि पार्टीभित्र आन्तरिक विवाद चर्किएको छ।