काठमाडौँ। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन र अत्यावश्यक पूर्वाधार पुनःसञ्चालन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरेको छ। कार्यदलले २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका कामहरू द्रुत गतिमा अघि बढाउने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ।
गठित कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य क्षेत्रको क्षतिको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्याङ्कन गर्नेछ। साथै, जोखिम र प्राथमिकताका आधारमा क्षेत्र र परिवारको वर्गीकरण गरी तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार पार्ने जिम्मेवारी पाएको छ।
कार्यदलले सङ्घ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र र विकास साझेदारबिच समन्वय गर्दै ‘बिल्ड ब्याक बेटर’ (Build Back Better) को सिद्धान्त अनुसार भूगर्भीय अवस्था र जलवायु जोखिमलाई ध्यानमा राखेर पुनर्निर्माणका काम अघि बढाउनेछ। दोहोरो लगानी र स्रोतको दुरुपयोग रोक्न एकीकृत योजना लागू गर्दै कार्यदलले नीतिगत, कानुनी र बजेटसम्बन्धी आवश्यक निर्णयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO) समक्ष सिफारिस गर्ने तथा नियमित अनुगमन र रिपोर्टिङ गर्नेछ।